काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर अघिल्लो पटकको लकडाउनले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यालय बन्दभन्दा सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।
विद्यालयमा स्वास्थ्यका सबै सावधानी अपनाउन तयार रहेको भन्दै आपसी छलफलबाट थप सावधानीका उपाय अपनाउनुपर्ने तर बन्द गर्न नहुने विज्ञप्तिमा भनिएको छ ।
प्याब्सनले सबै शिक्षक–कर्मचारीलाई, सबै शिक्षालयहरूमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपायहरू पालना गर्न/गराउन विशेष भूमिका निर्वाह गर्न पनि अनुरोध गरेको छ ।
यसअघि कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार (हिजो) को बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न र अनलाइनको माध्यमबाट पठनपाठन संचालन गर्न
मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यालय बन्द नगर्न भनेको हो ।
https://indrenitimes.com/uploads/Final%20UpdatedPress-release%202077-12-29%20(1).pdf
प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ ।