काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले भारत र चीनका १६ नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएकाे छ ।
महाशाखाले ती सीमानाका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नाकाहरूमा रहेका हेल्थ डेस्कमा सतर्कता अपनाउन निर्देशन दिएकाे हाे ।
भारत र चीनमा निरन्तर रूपमा देखिएकाे काेराेना संक्रमणकाे बढाेत्तरीलाई ध्यानमा राख्तै महाशाखाले सीमा नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरुवा, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई स्क्रिनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएकाे हाे ।
भारत र चीनसँग सीमा जोडिएका १६ सीमा नाकासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड—१९ को लक्षण देखिएका, पूर्णमात्रा खोप नलगाएका र स्क्रीनिङको क्रममा कोभिड–१९ को लक्षण देखिएमा परीक्षण गराउन भनेकाे इडिसिडीका निर्देशक डा. चुमनलाल दासले बताए ।