काठमाडौं- साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पनि सहन जित निकालेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हरायो । तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । नेपालका लागि कप्तान आशिष घलान, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । नेपालले पूर्ण नियन्त्रणमा लिएको खेलमा पहिलो हाफ भने बराबरी भएको थियो । तर, दोस्रो हाफमा श्रीलंकाली डिफेन्स लाइनअप नेपाली खेलाडीलाई रोक्न असफल भयो ।
जितपछि नेपालको ६ अंक भएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो ।
बंगलादेशको पनि ६ अंक रहेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।