काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले देश र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्नुपरेको बताएका छन् । उनले आफ्नो पार्टी कसैको भजन मण्डली नहुने बताए ।
पार्टीको नीति र योजना सार्वजनिक गर्न बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गत चैत्र ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाको स्पिरिटअनुसार नै विद्रोहको बिगुल फुकेको बताएका हुन् ।
‘लोकतन्त्र जोगाउन केपी ओलीलाई हटाउनुपर्छ भनेर लाग्नुभएका केही सहयोद्धाले मेरो साथ छाड्नुभएको छ, यसप्रति कुनै गुनासो छैन, भोलिको दिनमा फेरि समाहित हुन सक्नुहुन्छ,’ नेपालले भने, ‘कोही बीचमै थाक्दा रहेछन्, आँट घट्दो रहेछ । तर हामीले कार्यकर्ताको चाहना र भावनालाई आत्मसात गरेर देशभरी संगठनको सञ्जाल फैलायौं ।’
नेता नेपालले परिस्थितिमा परिवर्तन भएपछि नयाँ पार्टी खोलेको बताए । ‘संवैधानिक र कानूनी प्रबन्ध भएपछि त्यही अनुकूलतालाई प्रयोग गरेर केपी ओलीको पार्टीमा गुम्सिएको अवस्थाबाट उम्कन एउटा निकास पायौं,’ नेपालले भने ।