काठमाडौं- सभापति शेरबहादुर देउवा र दुई उपसभापति उपस्थित नभएपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित रहे ।
सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका बताइएको छ । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
१४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् । पदाधिकारी बैठकमा पेचिलो बनेको सिट बाँडफाँटको विषय र स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।