×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मरिउपोलका स्थानीयलाई बाहिर जान रोक

मरिउपोलका स्थानीयलाई बाहिर जान रोक

किभ- रुसी फौजले युक्रेनी सहर मरिउपोलका स्थानीयलाई त्यहाँबाट अन्यत्र जान रोकेको युक्रेनका अधिकारीहरूले जनाएका छन् । यसअघि रुसले तीन दिनका लागि उक्त सहरमा आक्रमण नगर्ने र सर्वसाधारणलाई अन्यत्र जान दिइने जनाएको थियो । तर रुसी फौजले बिहीबार मरिउपोलस्थित एजोभस्टल स्टिल कारखानामा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी अधिकारीले भने कारखाना क्षेत्रमा आफ्नो सेनाले आक्रमण नगरेको र स्थानीयलाई त्यहाँबाट अन्यत्र जान दिइएको बताएका छन् । कारखानामा बालबालिकासहित करिब २ सय सर्वसाधारण रहेका जनाइएको छ । 

त्यस्तै, करिब ५ सय युक्रेनी घाइते सैनिकले समेत त्यहाँ आश्रय लिइरहेका जनाइएको छ । यसअघि त्यहाँबाट करिब १ सय ५० जनाको उद्धार गरिएको थियो । कारखानाभित्र रहेका युक्रेनी कमान्डरहरू भने रुसी फौजले आक्रमण जारी राखेको र आफूहरूले कठिन लडाइँ लडिरहेको बताएका छन् । कतिपय सञ्चारमाध्यमहरूले कारखाना परिसरमा रुसी फौज प्रवेश गरेको दाबी गरेका छन् । यद्यपि, त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघलाई अपिल गरेका छन् । ‘हाम्रा लागि सबै नागरिकको ज्यान उत्तिकै महत्त्वपूर्ण छ । उनीहरूलाई जोगाउन हामी मद्दत माग्छौं,’ राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँगको टेलिफोन कुराकानीमा जेलेन्स्कीले भने  । एजेन्सी

प्रतिकृया दिनुहोस्