×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले नै ‘प्रमुख शक्ति’

एमाले नै ‘प्रमुख शक्ति’

काठमाडौं- एमालेले स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ । एमालेले पाँच दलीय गठबन्धन बाबजुद पनि ३४ प्रतिशत लोकप्रिय मतसहित प्रमुख शक्तिका रुपमा रहेको निश्कर्ष निकोलेको छ । सोमबार ६ घण्टासम्म बसेको सचिवालय बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनका प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनमा सत्ता गठबन्धनका बाबजुद पनि एमाले एक्लैले ३४ प्रतिशत लोकप्रिय मत हासिल गरेको  बताएका छन् । ज्ञवालीले भने, ‘यावत घेराबन्दी, सत्ताको दुरुपयोगका बाबजुद एमाले देशको प्रमुख शक्ति हो भन्ने निर्वाचनबाट स्थापित भएको छ । यसप्रति हामी गर्व गर्छौं ।’ उनले जितहारलाई पार्टीले स्वभाविक रुपमा लिने बताए ।  सत्तापक्षले जे गरेर भए पनि चुनाव जित्नुपर्छ भन्ने सोचका कारण कैयौं ठाउँमा धाँधली भएको पनि एमालेको निष्कर्ष छ । उनले  निर्वाचनको पवित्रतालाई दूषित बनाउने काम सत्तापक्षले गरेको पनि बताए। एमालेलाई हराउन स्रोत साधनको व्यापक दुरुपयोग भएको उनको भनाइ छ ।  कतिपय ठाउँमा समयमै उम्मेदवारी नटुंग्याउनु, आकांक्षीलाई समयमै व्यवस्थापन गर्न नसक्नुले परिणाम सोचे जस्तो नआएको एमालेको निश्कर्ष छ। बैठक कतिपय स्थानमा पराजित हुनुमा अन्तरघात हो कि असमझदारीको छुट्याएर कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने एमाले बताएको छ ।

\उपमहासचिव ज्ञवालीले अहिले वाम गठबन्धनको कुनै सम्भावना नरहेको  बताए। उनले माओवादी नेताहरूबीच भेटघाट र छलफल भने भइरहेको स्वीकार गरे । ‘अहिले हाम्रा र कतिपय माओवादीका नेताबीच भेटघाट चलेको हो तर यो वाम गठबन्धनका लागि होइन अरु नै राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नका लागि हो’ ज्ञवालीले  भने । एमालेले प्रचण्डलाई वा माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्ने कुरा पनि १०० प्रतिशत नै असत्य रहेको उनको भनाइ छ । एमाले अहिले कसैलाई प्रधानमन्त्री अफर गरेर अलमलिने पक्षमा नरहेको ज्ञवालीले बताए ।

 

उनले सचिवालयको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा गम्भीर छलफल भएको  बताए । ‘हामीले मुलुकको राष्ट्रिय राजनीतिका विभिन्न आयामहरूको बारेमा छलफल गर्‍यौं । वर्तमान सरकारले हाम्रो बाह्य नीतिमा जुन किसिमको विचलन ल्याउँदै गएको छ,’ उनले भने, ‘हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति जसरी खलबलिँदैछ, नेपाललाई नजानिँदो गरी भू–राजनीतिक द्वन्द्वतिर धकेल्ने काम वर्तमान सरकारबाट भइरहेको छ ।’

 

त्यसैबीच एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । जसमा एमालेबाट जितेका २०५ प्रमुख तथा अध्यक्ष र २४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुने छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिकृया दिनुहोस्