×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी २६ सांसदले लिदैछन मातृभाषामा सपथ

यी २६ सांसदले लिदैछन मातृभाषामा सपथ

काठमाडौं - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा २६ जनाले भने आफ्नो मातृभाषा रोजेका छन् । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दिउँसो १ बजे संसद् भवनमा २७४ सांसदलाई शपथ खुवाउने छन् । 

‘२६ माननीय सदस्यले १४ फरक–फरक भाषामा शपथ लिने नाम टिपाउनुभएको छ,’ संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने । मातृभाषामा शपथ लिन चाहनेमा माओवादीका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ३–३, स्वतन्त्र २ र कांग्रेस तथा एमालेका एक–एक सांसद छन्।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सबै सांसदलाई राष्ट्रिय पोसाकमा संसद्मा उपस्थित हुन र नेपाली भाषामा शपथ लिन निर्देशन दिएका छन् । मंगलबार संसदीय दलको नेता चुनिएपछि ओलीले यस्तो निर्देशन दिएको एक सांसदले बताए । तर एमालेका सराज अहमत फारुकीले भने उर्दू भाषामा शपथ लिने भएका छन्।

कांग्रेस सांसद कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिँदै छिन्। माओवादीका तीन सांसद हितबहादुर तामाङ, सूर्यमान तामाङ दोङ र मीना तामाङले मातृभाषा तामाङ भाषा रोजेका छन् । माओवादी सांसद रूपा सोसी चौधरीले थारू, दुर्गा राईले कोयू, महिन्द्र राय यादवले हिन्दी र उमरावतीदेवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन्। जसपाका प्रदीप यादव र रामसहायप्रसाद यादवले भोजपुरीमा र रञ्जुकुमारी झाले मैथिलीमा शपथग्रण गर्न चाहेका छन्। नागरिक उन्मुक्ति पार्टीका तीनै जना अरुनकुमार चौधरी, रञ्जिता श्रेष्ठ र गंगाराम चौधरी डगौराले थारू भाषामा शपथ लिने भएका छन् ।

जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता चन्द्रकान्त राउत, विनिताकुमारी सिंह, अनिता देवीले ‘मधेसी भाषा’मा र सोनु मुर्मॅले सन्याली भाषामा शपथग्रहण गर्नेछिन् । उक्त पार्टीका महासचिव तथा प्रवक्ता चन्दन सिंहले मैथिली, बज्जिका, अवधिलगायत भाषा मिलाएर कोड भाषाका रूपमा मधेसी भाषामा शपथ लिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच सांसदले नेपालीबाहेकको भाषामा शपथ लिने भएका छन् । रास्वपाकी सुमना श्रेष्ठले नेपाल भाषा, मनीष झाले मैथिली, लक्ष्मी तिवारीले अवधी, अशोककुमार चौधरीले थारू र असिम साहले नेपाली/मुस्लिम भाषामा शपथ लिने भएका हुन् । स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित किरणकुमार साहले संस्कृत र अर्का स्वतन्त्र सांसद लालवीर चौधरीले थारू भाषामा शपथ लिनेछन्।

प्रतिकृया दिनुहोस्