काठमाडौँ- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथी छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन बनाउन सुरु गर्ने भएको छ। समितिको हिजोको बैठकले सोही निर्णय गरेको हो। हिजोसम्म समितिले बजेट निर्माणमा संलग्नको छानबिन गरेको थियो।
समितिले अर्थमन्त्रालयको डिलिट भएको सीसीटीभी फुटेज पनि रिकभर गरेको थियो। तर सीसीटीभीबाट पनि बजेट निर्माण संलग्न भनिएका अनाधिकृत व्यक्तिबाट यथार्थ खुल्न सकेको छैन। सीसीटीभी रिकभर गरेर हेर्दासमेत प्रमाण फेला नपरेपछि संसदीय समितिले प्रतिवेदन लेखेर बुझाउने तयारी गरेको हो।
आजको बैठकमा सीसीटीभीबारे फेरि छलफल हुने र प्रतिवेदनमा पनि लेखिने समिति सचिव सुरेन्द्र अर्यालले बताए। सीसीटीभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने उनको भनाइ छ। उनले अब समितिको म्याद थप गर्न पहल नगरिनेसमेत स्पष्ट पारे।