×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सीमामा बीओपी : स्थानीयलाई ‘सुकुनको निन्द्रा’

सीमामा बीओपी : स्थानीयलाई ‘सुकुनको निन्द्रा’

धनगढी: एक वर्षअघिसम्म कैलालीको सीमावर्ती बस्तीमा चोरी तस्करी व्यापक हुन्थ्यो । छिमेकी देश भारतसंगको खुला सीमानाका कारण सीमा क्षेत्रका बस्तीहरु सुरक्षित थिएनन् । चोरी, तस्करीलगायतका गतिविधि मौलाएका थिए । तर, अहिले अवस्था केही फेरिएको छ ।

‘दुई/तीन वर्ष पहिले घरका सुँगुरसमेत रहन्थेनन्, आँगनबाटै साइकल उठाइए, पानी मोटर रहेनन्,’ कैलालीको धनगढी उपमहागनरपालिका- १० का शारदाप्रसाद राना विगत सुनाउँदै भन्छन्, ‘अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौं ।’ छिमेकी देश भारतसँग एक सय किलोमिटर खुला सिमाना भएको कैलालीमा अहिले बोर्डर आउट पोस्ट (बिओपी)हरु स्थापना गरिएका छन् । सरकारले एक वर्षअघिदेखि सीमा क्षेत्रमा सशस्त्रका विओपीहरू स्थापना गरेको छ ।

एक सय किलोमिटरको खुला सिमाना भएको कैलालीमा एक वर्षअघिसम्म चारवटा मात्रै बिओपी थिए । सरकारले गत वर्षदेखि बढाएर १६ पुर्‍याएको छ । सुरक्षाको अवस्थालाई हेरेर केही दुरीको फरकमा सीमा क्षेत्रमा बिओपीहरू स्थापना गरिएका छन् । बिओपी स्थापना भएपछि विगतमा चोरी, डकैती र तस्करीबाट आजित भएका स्थानीयबासीले अहिले सुरक्षित महशुस गरिरहेका छन् । ‘पहिले आलु, प्याजलगायतका व्यापारिक सामग्रीहरू व्यापक रुपमा खुलमखुल्ला ओसार पसार हुने गर्थ्यो,’ स्थानीय राममिलन रानाले भने, ‘अहिले खासै देख्न पाइँदैन । सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्छ ।’

No description available.

बिओपी स्थापना भएपछि जनताले शान्ति महसुश गर्न पाएको विओपी जुगेका ‘सई’ कृष्ण थापाले बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको उनले बताए । ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुनिन्छ,’ उनले भने, ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अवैध ओसारपसार पनि रोकिएको छ ।’

भारतसँग जोडिएको कैलालीको भजनी नगरपालिकाकाको केही भागमा पनि यसैगरी चोरी, डकैती, लुटपाटलगायतका घटनाहरू हुने गर्थे । सीमावर्ती भारतीयहरू नै गाउँमा आएर चोरी तथा लुटपाट मच्चाउँथे । स्थानीयहरु रातिको समयमा जाग्राम नै बस्थे । त्यतिमात्रै नभई महिलाले पहिरिएका सुनका गहना पनि जोगाउन गाह्रो थियो । तर, अहिले उनीहरुले त्यो समस्या हटेको छ । स्थानीयबासी अहिले रातमा सुकुनसँग निदाउन पाएका छन् ।

‘पहिले घरका गोठमै बाँधेका राँगा भैसा पनि रातारात चोरी हुन्थे,’ भजनी नगरपालिका वडा नम्बर ५ कि कल्धरी धामीले भनिन्, ‘राँगा–भैँसी जोगाउन पनि बाहिरै जाग्राम बस्नुपर्थ्यो ।’ स्थानीयका अनुसार सो क्षेत्रमा रातिमात्रै नभई दिउँसै पनि भारततिरबाट आउने व्यक्तिहरुले चोरी डकैती तथा लटपाट मच्चाउने गर्थे ।

विगतमा गाउँमा घरमै बाँधेका र चराउन लगेका गाई बस्तु पनि जोगाउन अप्ठेरहेको रहेको स्थानीय दानबहादुर बुढा बताउँछन् । ‘भारतीय चोर तस्करहरुले नेपालतिर आएर रातारात रुखहरु पनि काटेर गाडीमा लोड गर्दै लैजान्थे‚’ उनले भने, ‘हामीले केही गर्नै सक्दैन थियौं, त्यो सम्झिँदा त अहिले हामीले निकै सुख पाएका छौं । शान्तिको श्वास फेर्न पाएका छौं ।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएपछि अहिले त्यस्तो चोरी डकैतीका घटनाहरु नघटेको उनी बताउँछन् ।

No description available.

यसरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाएपछि सीमाको सुरक्षा हुनुका साथै सीमा क्षेत्रमा बस्ने बासिन्दाले पनि सुरक्षाको अनुभूति गरेका छन् । सीमा पारीबाट हुने अवैध क्रियाकलाप रोकिनुका साथै चोरी डकैती पनि पूर्ण रुपमा रोकिएको भजनी नगरपालिका- ५ कि स्थानीय गोमा धामीले बताइन् । ‘पहिले त हामी राति सुत्नै नै पाउँदैन थियौं,’ उनले भनिन्, ‘अहिले कुनै मतलव छैन । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दिनरात सुरक्षा गस्ती गरिरहेको छ ।’

कैलालीको भजनीमा मात्रै तीनवटा बिओपी स्थापना गरिएका छन् भने त्यसअन्तर्गत अस्थायी पोस्टहरू पनि राखिएका छन् । यसअघि भजनी नगरपालिका एउटा मात्रै बिओपी थिए । अहिले जिल्लाभर जम्मा १६ वटा बिओपी सञ्चालनमा रहेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीले जनाएको छ । अझै सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा थप बिओपी स्थापनाका लागि प्रस्ताव पनि गरिएको छ ।

सीमा क्षेत्रमा राखिएका बिओपी र कोभिड-१९ लाई मध्येनजर गर्दै त्यसअन्तर्गत राखिएका अस्थायी पोस्टले गर्दा चोरी–तस्करी रोकिएपछि स्थानीय पनि खुसी भएका छन् । भारतले देशका विभिन्न ठाउँमा सीमा अतिक्रमण बढाएपछि त्यसको सुरक्षा गर्न नेपाल सरकारले सीमा क्षेत्रमा बिओपीहरु स्थापना गरेको छ ।

कैलालीमा केही विओपीहरु ‘सई’को नेतत्वमा छन् भने अधिकांश ठाउँमा ‘इन्सपेक्टर’को कमान्डमा बिओपी स्थापना भएका छन् । सईको नेतृत्वको बिओपीमा मातहतमा २० जना सशस्त्र प्रहरी खटाइएको छ भने ‘इन्स्पेक्टर’ नेतृत्वको बिओपीमा २५ जना सशस्त्र प्रहरी खटाइएको छ ।

 

प्रतिकृया दिनुहोस्