×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोपीकृष्ण सिनेमा हल बन्द गर्ने घोषणा

गोपीकृष्ण सिनेमा हल बन्द गर्ने घोषणा

काठमाडौं - गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् । वि.सं २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिजलाई बन्द गर्ने निर्णयमा यसका संचालक पुगेका छन् ।

निर्देशक पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

निर्देशक पौडेलले आजसम्म पाएको सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् । २ बर्ष अगाडि गोपिकृष्ण मुभिजमा रहेका ७ पर्दामध्ये ४ वटा पर्दा रहेको भवन भत्काइएको थियो ।

अब, बाँकी रहेका ३ वटा हल पनि संचालन गर्न नसकिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिएका छन् । २ बर्षदेखि गोपिकृष्ण मुभिजले ‘ब्लू, ग्रीन र रेड’ नामक दिएर ३ वटा पर्दा संचालन गरिरहेको थियो ।

२ बर्ष अगाडि गोपिकृष्ण मुभिजको ४ पर्दा रहेका भवन भत्काएर २५ तलाको नयाँ मल बनाउने तयारी गरिएको थियो । तर, अहिलेसम्म यसको काम सुरु हुन सकेको छैन । अब, भने ३ वटा पर्दा पनि संचालन गर्न नसक्ने अवस्थामा गोपिकृष्ण मुभिज पुगेको हो ।

 

प्रतिकृया दिनुहोस्