माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसर पारेर ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको हो ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार चार वटा युनिटबाट व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको माथिल्लो तामाकोसीबाट भदौ १५ गतेभित्र ४५६ मेगावाट नै व्यावसायिक विद्युत उत्पादन सुरु हुनेछ । न्यौपानेले भने– ‘अहिले वर्षातको समय हो, पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ तर प्राधिकरणको भारप्रेषण केन्द्रले मागे अनुसार मात्रै विद्युत उत्पादन गरिरहेका छौं ।’
बिहानदेखि साँझसम्म र पिक समयमा पूर्ण क्षमतामा चले पनि रातको समयमा भने आवश्यकता अनुसार मात्रै चलाउने गरिएको आयोजनाले जनाएको छ ।
गत चैतमा नै पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएपनि विभिन्न समस्या आएका कारण उत्पादन मिति धकेलिदै आएको थियो । २०६८ सालमा निर्माण सुरु भएको आयोजना २०७२ निर्माण सक्ने लक्ष्य थियो ।
निर्माण सम्पन्न हुनुपर्ने बर्ष आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण निर्माण सामाग्री अभाव, ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका विविध कारणले ढिला भएको आयोजनाले जनाएको छ।
पछि उक्त ठेक्का वित्तीय भार नपर्ने गरि इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिएर सम्पन्न गरिएको आयोजनाले जनाएको छ ।