काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जसपाले आज र भोलि बैठक बोलाएको हो ।
जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने जानकारी दिए । बैठकले चुनावको समीक्षाका साथै राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आवश्यक निर्णय लिइने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा भने जसपामा सहमति जुट्न सकेको छैन ।
पार्टी अध्यक्ष उपेन्द्र यादव यसपटक सांसद छैनन् । उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका थिए । आफू सांसद नरहेकाले यादवले सरकारमा सहभागी हुने रुचि देखाएका छैनन् । यद्यपि जसपाका नवनिर्वाचित सांसदसहित नेताहरूले भने सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।
जसपाका प्रवक्ता मनिष सुमनले आफूहरूका मुद्दा सम्बोधन भए र शक्ति सन्तुलनमा कुरा मिलेमा सरकारमा सहभागी हुन सकिने बताए । जसपाले नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्नेमा जोड दिँदै आएको छ ।