काठमाडौं - लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।
आइतबार बुटवलमा रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रको राजनीति प्रदेशमा स्वभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि परिवर्तन हुने बताए।
केन्द्रीय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने जिकिर उनको छ। प्रदेशमा राजनीति छलफल विधि र विधान भित्र बसेर भएकोले छिट्टै निकास निस्कने बताए ।
उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गरे ।
उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए ।
प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता,सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको जानकारी दिए ।
नवनिर्वाचित पदाधकारीहरुलाई मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम भुमिका रहेको बताउदै जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।