×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समाजवादी र जसपासँगै कांग्रेसले पनि मन्त्री हेरफेर गर्ने

समाजवादी र जसपासँगै कांग्रेसले पनि मन्त्री हेरफेर गर्ने

काठमाडौँ- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले मन्त्री हेरफेरको तयारी गरेको छ। सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ६ जनामध्ये चार मन्त्री फिर्ता बोलाएर नयाँ अनुहार पठाउने निर्णय गरेका बेला कांग्रेसमा पनि हेरफेरको तयारी सुरु भएको हो।

कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टीमा मन्त्री हेरफेरको गृहकार्य सुरु भएको बताए। ‘कांग्रेसबाट पनि केही नयाँ केही पूराना गरेर मन्त्रिपरिषद्‌ पुनर्गठन गर्ने तयारी छ,’ उनले भने, ‘माओवादीबाट पनि प्रचण्डजीले हेरफेरका लागि लिस्ट तयार पार्दै हुनुहुन्छ। अब एकीकृत समाजवादीका सहित सबै पार्टीबाट एकैपटक हेरफेर हुन्छ।’

कसलाई बनाउने र कति हेरफेर भन्ने कुरा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तय गर्ने नेता बस्नेतको भनाइ छ। ‘कसलाई फिर्ता बोलाउने, कसलाई पठाउने प्रधानमन्त्रीजीको कुरा हो,’ उनले भने, ‘कांग्रेसबाट केही रहने र केही नयाँ आउने बुझिन्छ।’ नेता बस्नेतले एकीकृत समाजवादीका मन्त्रीहरु नफेरिनु र पार्टीको निर्णय नमान्नु मन्त्रीहरुको अराजकता भएको टिप्पणी गरे।

नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले आफ्नो पार्टीले तत्कालै मन्त्रीहरु हेरफेर नगर्ने दाबी गरे। ‘हाम्रो पार्टीले तत्कालै मन्त्री फिर्ता बोलाउँदैन। राम्रो काम गर्ने पनि छन्। फिर्ता बोलाउने कुरा मलाई थाहा छैन। अर्थमन्त्रीको विवादको विषय यो पार्टीको आन्तरिक जीवनको कुरा हो। पार्टीमा छलफल होला,’ उनले भने।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बजेट पारित भइसकेकाले चाँडै मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुने बताए। नयाँ मन्त्रीले केही दिनमा सपथ लिने उनको भनाइ छ।

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टीले पनि चुनावलाई केन्द्रित गरेर मन्त्री हेरफेरको गृहकार्य गरिरहेको छ।

प्रतिकृया दिनुहोस्