जापान। एभरेष्ट इन्टरनेशनल स्कुल जापानको सातौँ अधिवेशन सम्पन्न भएको छ। आईतबार टोकियोमा सम्पन्न अधिवेशनले किरणविक्रम थापाको अध्यक्षतामा नयाँ सञ्चालक समितिको गठन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा ओम गुरुङ चयन भएका छन् भने सदस्यहरुमा कमलचन्द्र आचार्य, कपिलदेव थापा, सगुन थापा, दिलबहादुर थापा (रामु) र अर्जुन खरेल चयन भएका छन् । थप दुई जना सदस्य नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेगरी अधिवेशनले म्यान्डेट दिएको बताईएको छ ।
यसैगरी सञ्चालक समितिको ७ सदस्यीय सल्लाहकार समितिमा महेशकुमार श्रेष्ठ, भूषण घिमिरे, तिलक मल्ल, नरबहादुर थापा, पारसमणि पोखरेल, टंक गैरे चयन भएका छन् भने थप १ जना कार्यसमितिले मनोनित गर्नेछ।
अधिवेशनले स्कुल सञ्चालक समितिको प्रमुख संरक्षकमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी, संरक्षकद्वयमा निवर्तमान अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठलाई चयन गरेको छ । यसैगरी संस्थापक अध्यक्ष डा. श्रेष्ठलाई विद्यालयको एकेडेमिक विभाग प्रमुखको जिम्मेवारी समेत तोकेको छ ।
अधिवेशनले,स्कुलको आर्थिक गतिविधिमा अनुगमन एवं नियमनकारी भूमिका निर्बाह गर्नका लागि अधिवेशनले हवलचन्द्र लामाको संयोजकत्वमा डिपी कँडेल र बाबुराम भण्डारी सदस्य रहेको तीन सदस्यीय अधिकार सम्पन्न आन्तरिक लेखा समिति पनि गठन गरेको छ।
एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका सञ्चालक समितिका अध्यक्ष भवन भट्टको सभापतित्वमा भएको सातौ अधिवेशन समारोहमा प्रिन्सिपल बिष्णुप्रसाद भट्टले स्कुलको प्रशासनिक तथा स्कुल सञ्चालन सम्बन्धि कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने भाइस प्रिन्सिपल राजेन्द्र तामाङले स्कुलको शैक्षिक गतिविधिसंग सम्बन्धित कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । यसैगरी अधिवेशनमा नियमावली संशोधन समितिका संयोजक ओम गुरुङद्वारा राखिएको नियमावली संशोधन सम्बन्धि प्रस्ताव पारित गरिएको छ । लगत्तै आन्तरिक लेखा समितिका तर्फबाट गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने विद्यालयका लेखा अधिकृत चक्रसिंह ठकुरीले स्कुलको समग्र आय-ब्ययको स्थिति प्रष्ट्याउनुका साथै आगामी आर्थिक वर्षको आर्थिक प्रोजेक्शन समेत पेश गरेका थिए । यसैगरी प्रस्तुत आर्थिक प्रतिबेदनमाथि टिप्पणी गर्दै लेखा समितिका संयोजक भूषण घिमिरे र सल्लाहकार महेशकुमार श्रेष्ठले स्कुलको समग्र आर्थिक अवस्थाको चित्रण गर्नुका साथै सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रकाश पारेका थिए।