×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी चारै जना बालबालिका

पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी चारै जना बालबालिका

काठमाडौँ- पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव चारै जना बालबालिका हुन्। चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्। उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए।

रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताए। ‘यसको मतलब अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखसमेत रहेका ठाकुरले भने।

६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन्। फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ।

ठाकुरका अनुसार काठमाडौँबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ। उनीहरूले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने ठाकुरले बताए। ‘केही शवको सनाखत पनि भएको छ। तर सबै निर्णय फरेन्सिकको टोली पुगेपछि मात्र हुने छ’ उनले भने।

प्रतिकृया दिनुहोस्