नेपालगन्ज - जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार रातीबाट जिल्लाभर लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको छ ।
यसअघि वैशाख ९ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउन गरेको थियो ।
निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।
यस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ ।
उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने पनि उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको र कोरोनाको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नुपरेको बताएका छन् ।
बाँकेमा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।