काठमाडौं- बुधबार चार प्रदेशले मुख्यमन्त्री पाउँदै छन् । मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउन लागेको हो ।
मधेस प्रदेशमा मंगलबार नै दाबी पेश गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको छ । मधेस प्रदेशमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादवलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउने तयारी छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बिहीबार दिउँसो ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । त्यसको एक दिनअघि नै दाबी पेश गर्न लागिएको हो । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
लुम्बिनी प्रदेशमा पनि आज नयाँ सरकार गठनका लागि दाबी पेश गरिँदै छ । प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गर्न लागिएको हो । गठबन्धनमा भएको सहमतिअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्दैछन् ।
यसैगरी, कर्णाली प्रदेशमा पनि बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने कार्यतालिका रहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले तोकिएको समयभित्रै मुख्यमन्त्रीको दाबी पेश गर्ने गरी तयारी भइरहेको बताइएको छ । प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेअनुसार शर्माले दाबी पेश गर्न लागेका हुन् ।
उता, सुदूरपश्चिममा पनि सरकारमा दाबी पेश गर्ने समयसीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । तर, सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्रीको प्रमुख दाबेदार छन् ।