×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

नेपाल बारले गर्यो प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनको घोषणा

नेपाल बारले गर्यो प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं - नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले आफ्नो केन्द्रीय समिति बैठकबाट प्रधानन्यायाधीशले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो ।

बारले कात्तिक १४ देखि १७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, कात्तिक १६ गते सर्वोच्च अदालत प्रांगणमै धर्ना र विरोध सभा गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा कात्तिक १७ भित्र पनि प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उल्लेख छ ।

बारले न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मक रूपमा आन्दोलन गर्नुपरेको भन्दै सहयोगका लागि सेवाग्राही, कानुन व्यवसायी र नागरिक समाजसँग आग्रहसमेत गरेको छ ।

वकिलबीच कुटाकुट
नेपाल बार एसोसिएसन परिसरमा दुई जना कानुनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानुन व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्ने र इजलास बहिष्कार गर्ने विषयमा भनाभन हुँदा दुवैबीच कुटाकुट भएको हो ।

कानुन व्यवसायीहरूका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुव्र्यवहार गर्दै झापट हानेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरूले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो । न्यौपाने बढी आक्रोशित हुँदै हातपात गरेका थिए ।

चुडालले पत्रकारहरूसँग कुरा गर्दै आफूले कानुनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिँ ‘सामान्य विवाद भएको’ भन्दै मिलापत्र भएको दाबी गरे ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्