काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताएका छन् । हिजोदेखि धर्ना थालेका पुनले माइतीघर चोकको सडकमै रात बिताएको बताएका छन् ।
गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५/२० जना साथीहरुले साथ दिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन् ।
उनले लेखेका छन् - "लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ
जनताहरु सुति रहनु होस र
नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस
के त होला र ? केहि चिन्ता छैन
हद्द भए यहि नेपाल ता जाला
पृथ्वी ता रहि रहन्छ नि "
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उनको भनाइ छ । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन हिजोदेखि पुन र उनका समर्थक माइतीघरमा धर्नामा बसेका हुन् ।