काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।
बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ ।हिजोको बैठकमा संस्थापन इतर समूहका डा. शेखर कोइरालाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणमा पार्टी विधि अनुसार चल्न नसकेको, पार्टीका संगठनहरुप्रति सभापति बेखबर जस्तो रहेको, चुनावी तालमेलले कांग्रेसलाई भन्दा अरू गठबन्धन दललाई मात्र फाइदा पुगेको र अबको चुनावमा चुनावी तालमेललाई पुनर्विचार गर्नुपर्नेलगायतका विषयवस्तु उठाएका थिए ।