काठमाडौंं- कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी भएको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासि आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
ना४ख ७८८८ नम्बरको उक्त ट्यांकर निर्माण स्थलमा चालकले चलाइरहँदा एक्कासि आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए ।
उक्त घटनामा ट्यांकरको पछाडि रहेका सहचालक घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो निभाइएकाले थप क्षति हुनबाट भने जोगिएको छ ।