काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।
शनिबार बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको उनको भनाई छ । ‘यथास्थितिमा एमसीसी संसद्बाट अनुमोदन गर्न नसकिने हाम्रो पार्टीको २०७८ फागुन गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति हामी प्रतिबद्ध छौँ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘असहमति र विरोधकाबीच संसद्मा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ । यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको विषय हो ।’
साथै उनले प्रदर्शनमा गरिएको बल प्रयोगप्रति असहमति जनाउँदै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे । ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमतिसहित विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले अगाडि भनेका छन् ।