काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप 'लिग टू'मा सहभागिताको उद्देश्यसहित सन्दीप यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दियो ।
दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले फेसबूकमार्फत जानकारी दिएको छ ।
रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आईसीसीसँग आग्रह गरेको थियो ।
नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ । टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ ।
नेपालले बिहीवार र सोमवार यूएई तथा शुक्रवार पीएनजीविरुद्ध खेल्दैछ ।
उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् ।
सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि उनलाई यूएई जान बाटो खुलेको हो ।