×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बझाङ घटना : बलात्कृत भएदेखि नै तनावमा थिइन् दीपा

बझाङ घटना : बलात्कृत भएदेखि नै तनावमा थिइन् दीपा

काठमाडौं- बझाङको बुङ्गल गाउँपालिका-९ स्थित रारुकी २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा बुधबार बिहान भेटिए।

कामको खोजीमा भारत गएका दीपाका श्रीमान पुष्कर पार्की मंगलबार राति मात्रै घर आइपुगे। पुष्कर उत्तराखण्डमा मज्दुरी गर्न दुई महिना पहिले मात्रै गएका थिए।

बर्खाको समय भएकाले काम नपाएपछि उनी रितो हात घर फर्किएका हुन्। घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार पुष्कर राति सवा १२ बजेतिर घरमा आइपुगेका हुन्। रातिसँगै खाना खाएर उनीहरू सुतेका थिए। तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र श्रीमती घर नजिकैको बेडुल्लाको रुखमा झुण्डिको अवस्थामा भेटिए।

गाउँलेले घर नजिकै रुखमा श्रीमती र दुई नाबालक झुण्डिएको खबर गरेपछि आफुले थाहा पाएको पुष्करले प्रहरीलाई बताएका छन्। उनी राति सवा १२ बजेतिर घरमा आइपुगेका थिए। ‘थाकेर आएको थिएँ, खाना खाएर सुतेँ’ पुष्करले प्रहरीसँग भनेका छन्-‘बिहान गाउँलेले हल्ला गरेपछि हेर्न जाँदा श्रीमती र मेरा दुई छोराछोरी झुण्डिएको देखेँ।’

अवस्थीका अनुसार उनीहरू झुण्डिएको रुखको तल एउटा टर्चलाइट र मोवाइल भेटिएको छ। मृतक तीनै जनाको शरीरमा कुनै निलडाम र चोटपटक नभएकाले आमाले छोराछोरी झुण्ड्याएर पछि आफू झुण्डिएको हुन सक्ने प्रारम्भीक अनुमान रहेको अवस्थीले जानकारी दिए।

बलात्कृत भएपछि तनाबमा थिइन् दीपा

दीपा गत वर्षमात्रै गाउँकै झलक दमाईबाट बलात्कारको सिकार भएकी थिइन्। बलात्कार गर्ने झलक अहिले पुर्पक्षका लागि कारागारमा छन्। उनले पुष्कर घरमा नभएको मौका छोपेर रातिको समयमा मदिरा सेवन गरी दीपालाई बलात्कार गरेको आरोप छ।

प्रहरी निरीक्षक अवस्थीले बलात्कृत भएपछि दीपा मानसिक तनावमा रहेकी स्थानीयबाट बुझिएको बताए। त्यसैमा नोकरी गर्न भारत गएका श्रीमान छोराछोरीलाई एउटा विस्कुटसमेत नल्याएर खालीहात घर फर्किएपछि जीवनदेखि नै दिक्दार भएर आत्महत्याको बाटो रोजेको हुन सक्ने अवस्थीले बताए।

दीपा नाम्लोमा र दुई नाबालक चुन्नीमा पासो लागेर झुण्डिएको अवस्थामा शव भेटिएको हो। प्रहरीले शव जाँच मुचुल्का गरेर जिल्ला सदरमुकामतर्फ ल्याउँदै छ।

घटनास्थलमा पुगेर पारिवारिक अवस्था र विगतको अवस्थाबारे सोधपुछ गरिएको र थप अनुसन्धान भइरहेको अवस्थीले बताए।

प्रतिकृया दिनुहोस्