×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इरानमा फाँसीको सजाय बढ्दै, सरकार ‘किलिङ मेसिन’ बनिरहेको आरोप

इरानमा फाँसीको सजाय बढ्दै, सरकार ‘किलिङ मेसिन’ बनिरहेको आरोप

इरान सरकारले सर्वसाधारणमा भय सिर्जना गर्न फाँसीको सजाय बढाइरहेको अधिकारीवादी संघसंस्थाहरूले बताएका छन्। सरकारविरोधी आन्दोलनमा उत्रिएकामाथि गैरराजनीतिक आरोपका मुद्दामा पनि फाँसीको सजाय बढाइरहेको उनीहरूको आरोप छ।

इरानमा सन् २०२१ को तुलनामा सन् २०२२ मा ७५ प्रतिशतभन्दा बढी मानिसलाई फाँसीको सजाय दिइएको थियो। नागरिकमा डर पैदा गर्नका लागि इरान सरकारले ‘किलिङ मेसिन’ प्रयोग गरेको भन्दै मानवअधिकारवादी संस्थाहरूबाट निन्दा भइरहेको हो।

नर्वेस्थित मानवअधिकारवादी संस्था इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (ईसीपीएम)द्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०१५ पछि सन् २०२२ मा सबैभन्दा बढी ५८२ जनालाई फाँसीको सजाय दिइएको थियो।

गत वर्ष इरानमा २२ वर्षीया महिला महसा अमिनीको प्रहरी हिरासतमै मृत्यु भएको घटनापछि देशव्यापी हिंसा भड्किएको थियो। त्यसपछि सरकारले आन्दोलन दबाउन गोली चलाउने, प्रदर्शनकारीलाई पक्राउ गर्ने, जेलमा राख्ने र फाँसीको सजाय दिनेसम्म गरिरहेको छ।

यसबीचमा सरकारविरोधी आन्दोलनमा उत्रिएकामध्ये चार जनालाई फाँसी दिइसकिएको बताइएको छ। इरानका गतिविधिले मानवअधिकार उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय जगत्ले आलोचना गरिरहेको छ। यद्यपि, सरकारविरोधी बृहत् प्रदर्शनपछि सरकारले लागुऔषधसम्बन्धी मामिलामा पनि मृत्युदण्डको सजायलाई बढाएको पाइएको छ।

अधिकारवादी समूहहरूले पनि इरान सरकारविरुद्ध अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न र प्रतिबन्ध लगाउन अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएका छन्।

मानवअधिकारवादी संस्थाहरूद्वारा बिहीबार सार्वजनिक एक प्रतिवेदनमा भनिएको छ, “सर्वसाधारणमा भय सिर्जना गर्न इरानी अधिकारीहरूले गैर–राजनीतिक आरोपका मुद्दामा पनि फाँसीको सजाय बढाइरहेका छन्। नागरिकहरू इस्लामिक रिपब्लिकले ‘किलिङ मेसिन’का सस्तो सिकार बनिरहेका छन्।”

सरकारविरोधी आन्दोलनमा सहभागी भएका चार जनालाई फाँसी दिइसकिएको छ र उनीहरूलाई लागेकै आरोपमा बाँकी १०० जनाजति प्रदर्शनकारी थुनामा छन्। उनीहरूलाई पनि फाँसीको सजाय हुनसक्ने जोखिम बढेको पनि प्रतिवेदनमा औँल्याइएको छ।

यति मात्र होइन इरानमा फाँसी दिइएकाहरूमध्ये ३० प्रतिशत अल्पसंख्यक सुन्नी मुस्लिम बलुच समुदायका मानिसहरू रहेको पनि प्रतिवेदन उल्लेख छ। इरानमा जनसंख्याको केबल दुईदेखि ६ प्रतिशत मात्रै बलुच समुदाय छ। यस्तै, अल्पसंख्यक कुर्द र अरबी समुदायका मानिसलाई धेरै मृत्युदण्ड दिइने गरेको पाइएको प्रतिवेदनले जनाएको छ। विशेष गरी उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा सजाय हुने गरेको बताइको छ।

यसैबीच, सन् २०२२ मा लागुऔषधसम्बन्धी घटनामा विश्वभर मृत्युदण्डको संख्या बढेको लागुऔषध सुधार समूह हार्म रिडक्सन इन्टरनेशनल (एचआरई)को तथ्यांक छ। एचआरआईका अनुसार सन् २०२२ मा लागुऔषधसम्बन्धी घटनामा २८५ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ। यो संख्या सन् २०२१ को तुलनामा निकै बढी हो। सन् २०२१ मा कूल १३१ जनाले मृत्युदण्ड पाएको अल जजिराले जनाएको छ। लागुऔषध अपराध मुद्दामा १८ वटा देशमा कम्तिमा ३०३ जनालाई मृत्युदण्डको सजाय दिइएको र यो संख्या सन् २०२१ को तुलनामा २८ प्रतिशत बढी भएको बताइको छ।

यस्तै, लागुऔषध अपराध मुद्दामा विश्वभर तीन हजार ७०० मानिसहरू मृत्युदण्डको पर्खाइमा रहेको समेत बताइएको छ। यो संख्याले विश्वभर लागुऔषध सम्बन्धमा दिइने मृत्युदण्डको केही प्रतिशतको मात्रै प्रतिनिधित्व गर्ने एचआरआइले जनाएको छ। विशेष गरी चीन, भियतनाम र उत्तर कोरियामा मृत्युदण्डको सूचना अत्यन्तै गोप्य राखिने गरेको छ।

विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिइने देशहरू
विश्वमा सबैभन्दा बढी मृत्युदण्डको सजाय हुने देश चीन, इरान, इजिप्ट, साउदी अरेबिया र सिरिया रहेको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ। एम्नेष्टीको सन् २०२१ को तथ्यांक अनुसार विश्वभर सन् २०२० को तुलनामा २०२१ मा मृत्युदण्डको सजाय २० प्रतिशत बढेको थियो। जहाँ सन् २०२१ मा १८ वटा देशमा कुल ५७९ जनाले मृत्युदण्ड पाएको बताइएको थियो। यद्यपि, यो संख्या सन् २०१० पछिकै सबैभन्दा कम भएको पनि एम्नेष्टीले जनाएको छ।

सबैभन्दा मृत्युदण्ड बढी दिने पहिलो देश चीन हो। सन् २०११ मा सीबीएस न्युजले एक समाचार लेखेको थियो जहाँ चीनमा प्रत्येक वर्ष ४ हजार मानिसले मृत्युदण्ड पाउने उल्लेख थियो। अधिकारवादी समूह डुइ हुवा फाउन्डेसनका अनुसार चिनियाँ अधिकारीहरूले चीनमा वार्षिक कतिलाई मृत्युदण्ड दिइन्छ भन्ने कुरा खुलाउन अस्वीकार गरे पनि सन् २००७ पछि मृत्युदण्डको संख्या ५० प्रतिशत घटेको बताएका थिए।

यस्तै, सन् २००६ मा वार्षिक ८ हजारलाई मृत्युदण्ड दिइएको डुइ हुवाले उल्लेख गरेको थियो। जघन्य अपराधबाहेक अन्य मुद्दामा मृत्युदण्डको सजाय ज्यादै न्यून पार्ने प्रयास भइरहेको चिनियाँ सरकारको भनाइ थियो।

यस्तै, सबैभन्दा बढी मृत्युदण्ड दिनेमा चीनपछि दोस्रोमा इरान छ। त्यहाँ वार्षिक सयौँ मानिसलाई मृत्युदण्डको सजाय दिइने गरेका छन्। सन् २०१५ मा ९७७ जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०१७ मा ५०७ जना र सन् २०२३ को चार महिनायता मात्रै ११३ जनालाई फाँसीको सजाय दिइएको छ।

विश्वमा सबैभन्दा बढी फाँसी दिने देशमा तेस्रोमा इजिप्ट छ भने चौथोमा साउदी अरब र पाँचौँमा सिरिया छ। मृत्युदण्डको सजाय बढी हुने प्रमुख पाँच देशमा चीनबाहेक सबै मुस्लिम बाहुल्य देश छन्।

 

प्रतिकृया दिनुहोस्