काठमाडौं- प्रधामनमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको नेकपा (एमाले) संवादबाट भाग्यो भन्ने कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जवाफ पठाएका छन् । सत्ता पक्षले जहाँ–जहाँ बोलायो त्यहीँ जाँदा मात्रै संवादमा सहभागी भएको, तर नजाँदा नभएको भन्ने नहुने ? भन्ने प्रश्न गर्दै भट्टराईले आफ्नो पार्टी संवादबाट कहिल्यै नभाग्ने बताएका हुन् । बिहीबार प्रधानमन्त्रीले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा एमाले सहभागी भएन । बैठकपछि बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवादबाट भागेको बताएका थिए ।
‘संसद् अवरोध गर्नुभएको छ । संवाद र वार्ता गर्नुपर्ने थियो, सभामुखले बोलाएको बैठकमा पनि एमाले अनुपस्थित भएको थियो, आज पनि उपस्थित हुनुभएन,’ बैठकपछि उनले भने, ‘यसले उहाँहरु संवाद र वार्ताबाट पर भागेको देखियो ।’ भट्टराईले भने एमाले कहिल्यै संवादबाट नभाग्ने बताए । ‘एमाले लोकतान्त्रिक पार्टी हो । संविधान, मर्यादा, कानून सबै जोगाउन चाहन्छ । त्यसैले संवादबाट भागेको भन्ने झुटो कुरा हो’ उनले भने ।