काठमाडौं - नेपाली क्रिकेट समर्थकहरूको धड्कन बढ्दो छ, किनकि आज नेपालले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि घरेलु टोलीसँग निर्णायक भिडन्त गर्दैछ। एक जितले नेपाललाई सिरिज च्याम्पियन बनाउनेछ, त्यसैले ग्लास्गोमा हुने यो खेल नेपालका लागि 'फाइनल' सरह हो।
नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने यो खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको नेपाललाई सिरिज जित्न आजको खेल आफ्नो पक्षमा पार्नु अनिवार्य छ। नेदरल्यान्ड्स ४ अंकसहित दोस्रो स्थानमा छ भने घरेलु टोली स्कटल्यान्ड २ अंक लिएर तेस्रो स्थानमा छ।
बिहीबार नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकालेपछि आत्मविश्वासले भरिएका कप्तान रोहितकुमार पौडेलले पनि स्कटल्यान्डलाई हराएर सुखद अन्त्य गर्ने र सिरिजको ट्रफी उचाल्ने लक्ष्य रहेको बताएका छन्। उनले स्कटल्यान्ड भ्रमण समग्रमा राम्रो भएको र यसलाई अविस्मरणीय बनाउन टोली तयार रहेको बताए।
नेपालले सिरिजको पहिलो खेलमा स्कटल्यान्डलाई नै पराजित गरेको थियो। नेदरल्यान्ड्ससँग एक रोमाञ्चक सुपर ओभरमा पराजित भए पनि दोस्रो भेटमा सानदार पुनरागमन जित निकालेर नेपालले आफ्नो दाबेदारी बलियो बनाएको हो।