नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको दोहोर्याएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको समेत ठहर गरेको छ ।
‘संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको ’ विज्ञाप्तिमा उल्लेख गरिएको छ
कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलाभन्दा विपरीत भएको उल्लेख छ । ‘लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलाभन्दा विपरीत छ’ खड्काले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्तिमा आफ्नै निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा कुटिएको विषय उल्लेख नगरेकोमा विरोध भएको थियो । अहिलेको वक्तव्यमा सो विषय पनि समावेश गरिएको छ ।
‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सनायोग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’