काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि गठबन्धन नटुट्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगरमा मतदान गरेपछि प्रचण्डले निर्वाचन पछि सजिलैसंग प्रधानमन्त्री चुनिने दावि गरे ।
‘मैले सार्वजनिक कार्यक्रममा भन्दै आएको छु । प्रधानमन्त्रीका कारण गठबन्दन टुट्दैन । जबसम्म संविधान माथि, सुशासन र समृद्धिको यात्रामाथि प्रश्न चिन्ह् रहन्छ तबसम्म गठबन्धन जारी रहन्छ, उनले भने । तर, उनले प्रधानमन्त्री को हुन्छ भन्ने विषय भने खुलाएनन् ।
‘प्रधानमन्त्रीका उम्मेद्वार त धेरै छन् । नेपाली कांग्रेस भित्र पनि शेरबहादुर देउवा जि देखि लिएर गगन थापा लगायतका थुप्रैले दावि गरिराखेकै छन् । त्यसकारण अहिले हामीले प्रधानमन्त्रीको टुंगो लगाएका छैनौँ गठबन्धन भित्र यो निर्वाचन सकिएपछि हुन्छ । मैले पनि सबैतिर भनेको छु प्रधानमन्त्री हाम्रो लागि समस्याको विषय हुँदैन,’ उनले भने ‘आरामसंग त्यसलाई हल गरिन्छ ।’
उनले निर्वाचन पछि सरकार गठबन्धनकै बन्ने दावि गरेका छन् । ‘देशैभर चुनावी प्रचारमा सबैभन्दा बढी म नै हिडेको छु । निर्वाचनको हाम्रो पक्षमा माहोल छ,’उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’ यो निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रकृया तर्फ लाने विश्वास उनको छ । चितनव छोडेर गोरखा पुगेका प्रचण्डले चितवनको विकासका लागि लाग्ने बताए ।