अफिसको गाडीमा धनगढीबाट बिहान ५ बजे काठमाडौंको लागि निस्किँदा गाडीमा गुरुजी र ममात्र थियौं। बाटोमा आइरहँदा लाग्यो हामी टाढैको यात्रामा जादैछौं, गाडीमा सामान मिलाएर राख्ने हो भने दुईजनालाई लिफ्ट दिन सकिन्छ। नयाँ मान्छेसँग भेट पनि हुने, सेवा पनि हुने। भालुवाङ कटेर धानखोलामा खाना खाईरहँदा त्यहाँबाट बुटबल पुग्न लाग्ने समयलाई ध्यानमा राखेर फेसबुक स्टाटस हाले "१२.३० बजे बुटबलबाट काठमाडौं जाँदैछु। दुई जनालाई लिफ्ट दिन सक्नेछु। इनबक्स गर्नुहोला।"
कमेन्ट आउन थाले। म्यासेज पनि। केशव सरले, सुवास भाईले र डिल्लीजीले त फोनै गर्नुभयो। अन्तिममा दुईजना जाने पक्का भयो। बुटबलबाट केही किलोमिटर पूर्व खैरहनीबाट। सुप्रज्ञ र संगमलाई गाडीसम्म छोड्न तिनका अभिभावक आउनुभयो। परैबाट चिनेर गाडी रोक्यौं। साइरन भएको हाम्रो गाडी चिन्न उहाँहरूलाई पनि मुश्किल भएन। गाडी छेउ आएपछि भलाकुसारी र चिनजान भयो। सुप्रज्ञमा ड्याडी मम्मी भन्दै हुनुहुन्थ्यो "कति भाग्यमानी सर हाम्रो बाबुहरू। सरसँग यात्रा गर्न पाए।"
म झन् भाग्यमानी महसुस गरिरहेको थिएँ यति ऊर्जावान युवाहरूसँग सहयात्रा गर्न पाउनेवाला थिएँ। साढे एक बजेतिर हामी खैरहनीबाट हिड्यौं।
प्लस टु गरेर उच्च शिक्षाका लागि काठमाडौं हानिएका युवा। संगम त पहिलो पटक काठमाडौंको यात्रामा रहेछन्। अनि सुप्रज्ञ एकपटक बिरामी भएर चेकअपको लागि गएका। म पुरै फ्ल्यासब्याकमा गए। एसएलसी दिएर थप शिक्षा आर्जन गर्न काठमाडौं आउँदाको उत्सुकता र खुल्दुली सम्झिन थालेँ। होस्टेलमा बस्ने, पिइएमा कोचिङ पढ्ने अनि सिभिल इन्जिनियर बन्ने सपना बोकेर काठमाडौं हिडेका उनीहरूका व्यक्तिगत कुरा, आगामी योजना सुन्दै जाँदा बुटबल नारायणघाटको निर्माणाधीन धुलाम्मे सडक खण्ड कटिसकेछ।
नारायणघाटमा पुगेपछि काठमाडौं जाने चिल्लो सडक सुरु भयो। गाडी तीव्र गतिका साथ सडकमा चिप्लिरहँदा रामनगर कट्ना साथ एकजनाले गाडीभित्रै 'भमिट' गरे। गुरुजीले गाडी रोकेर बाहिर गएर 'भमिट' गर्न र 'फ्रेस' हुन एक बोटल पानी समेत दिए। एकछिन रोकियौं। उनीहरू सोध्दै थिए "सर भमिट गर्ने प्लास्टिक छैन गाडीमा?"
पर गएर केही थान प्लास्टिकका झोला किनेर ल्याएपछि फेरी गुड्न सुरु। सुप्रज्ञले झोलाबाट चाउचाउ निकालेर माड्न थाले र मलाई सर खानुहुन्छ भनेर सोधे। मामुले मायाले राखिदिएको होला तिमीहरु खाउ भने। अभिभावकले बेलाबेला मलाई फोन गर्दै सोध्नुहुन्थ्यो "बाबुहरु ठीक छन् नि सर? कुनै अप्ठ्यारो भएको त छैन नि?"
मौवाखोला नजिक पहिरोले बाटो अवरुद्ध भएको रहेछ। करिब ३ किलोमिटर जामको पुछारमा बसेका थियौं हामी। एकजना प्रहरीले साइरन देखेपछि सोध्नुभयो "कहाँको गाडी हो सर?"
गृह मन्त्रालयको।
उहाँले र पछि ट्राफिक इन्स्पेक्टर सरले पनि सहजीकरण गरेपछि हामीलाई जाम छिचोल्न धेरै कुर्नु परेन। संगमले सुप्रज्ञलाई भन्दै थिए "आम्मा हो! बसमा आएको भए यत्रो जाम पार गरेर भोलि बिहान मात्रै पुगिन्थ्यो होला यार।" उनीहरूले यति लामो जाम पहिलो पटक देखेका थिए।
मलेखु पुग्दा साढे सात बजिसकेको थियो। खाजा खायौं र भाईहरूलाई पनि खुवायौं। अब उनीहरूलाई काठमाडौंमा तिनका आफन्तको जिम्मा लगाउनु पर्ने भयो। अभिभावकहरू भन्दै हुनुहुन्थ्यो उहाँहरूलाई भनेकै ठाउँमा छोडी दिनुहोला। उनीहरू होस्टेलमा बस्ने तयारीका साथ आएपनि होस्टलको रुम तयार भई नसकेकोले सायद सुप्रज्ञका दादाले आजलाई अन्तै बस्ने व्यवस्था मिलाउँदै थिए। दादा राति दश बजेसम्म ड्युटीमा रहने भएकोले उनीहरूलाई लिन एक जना बहिनीलाई पठाउने भन्दै थिए। हामीले भाईहरूलाई बिजुलीबजारको पुल छेऊ बा.१ ज २३४ नं.को ट्याक्सी चढेर आएकी तिनै बहिनीको जिम्मा लगायौं।
एउटा सरकारी कर्मचारीप्रति विश्वास गर्दै सहयात्रा गरेकोमा दुवै जनालाई धन्यवाद दियौं। पढाई र करिअरको लागि शुभकामना दिदैँ छुट्टियौं। जाँदाजाँदै सुप्रज्ञ भन्दै थिएँ "सर हजुरको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको छु एसेप्ट गर्नुहोला हैं।"
(लेखक उपाध्याय गृह मन्त्रालय,लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)