×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जेनजी सरकारमा असली जेनजी मन्त्री बने बब्लु गुप्ता

जेनजी सरकारमा  असली जेनजी मन्त्री बने बब्लु गुप्ता

काठमाडौं - सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा पहिलोपटक जेनजी (Gen Z) पुस्ताको प्रतिनिधित्व भएको छ। प्रधानमन्त्री कार्कीले आइतबार दुई मन्त्री नियुक्त गर्दा जेनजीको कोटाबाट बब्लु गुप्तालाई मन्त्री बनाएकी हुन्। जेनजीले बनाएको सरकारमा जेनजी उमेर समूहका व्यक्ति मन्त्री नबनेको भन्दै भइरहेको आलोचनालाई गुप्ताको यो नियुक्तिले कम गर्ने अनुमान गरिएको छ।

बब्लु गुप्ता भदौ २३ र २४ को जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेका थिए। माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भएको मार्च पासमा उनी जापानी एनिमीको तस्बिरसहित अग्रपंक्तिमा नारा लगाउँदै देखिएका थिए। २३ गते प्रहरीले संसद् भवन अगाडि गोली चलाइरहँदा समेत उनी फिल्डमै थिए भने दोस्रो दिनको आन्दोलनमा समेत अग्रभागमा खटिएका थिए।

परोपकारी समूह १०० ग्रुपसँग आबद्ध २६ वर्षीय गुप्ताले घाइते आन्दोलनकारीलाई अस्पतालसम्म लैजान सहयोग गर्दै आएका थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएको परिस्थितिमा अरू जेनजी आन्दोलनकारीहरू जंगीअड्डा र राष्ट्रपति कार्यालयमा नागरिक सरकार गठनको बहसमा व्यस्त भइरहँदा उनी अस्पतालमै घाइतेको सहयोगमा खटिएका थिए।

यिनै बब्लु गुप्ता आइतबारदेखि जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका छन्।

प्रतिकृया दिनुहोस्