काठमाडौं- पदाधिकारी टुंगो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिना निष्कर्ष टुंगिएको छ। पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको स्थायी कमिटी बैठक भोलि पुन: बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको महराले बताए।
महराले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए। पाँच जना उपाध्यक्ष र महासचिवमा लगभग निश्चित भए पनि अध्यक्ष प्रचण्डलाई पदाधिकारी टुंग्याउन सकस परेको छ।
महराका अनुसार आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए। स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताए।