टोकियो, जापान । नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि जापानमा आयोजना हुन लागेको ‘2nd Chiba Nepal Cultural Festival 2026’ रद्द गरिएको छ । गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा आगामी सेप्टेम्बर १९ र २० तारिख फुनाबाशी केइबाज्योमा आयोजना गर्ने तय भएको महोत्सव नेपालमा उत्पन्न विपद्को वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै रद्द गरिएको हो।
नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण नागरिकहरूको ज्यान गएको, ठूलो संख्यामा परिवार प्रभावित भएको र देश शोक तथा पीडामा रहेका बेला उत्सवमूलक कार्यक्रम आयोजना गर्नु समय र परिस्थितिका दृष्टिले उपयुक्त नहुने निष्कर्षसहित महोत्सव रद्द गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सव रद्द गर्ने निर्णय लिनुअघि जापानवासी नेपाली समुदाय, विभिन्न संघसंस्था, समाजसेवी, सल्लाहकार तथा NRNA ICC Japan सँग आवश्यक सरसल्लाह तथा सुझाव लिइएको थियो। त्यसैगरी, अगस्ट ३०, आइतबार फुनाबाशी केइबाज्योमा बसेको NRNA Chiba को नियमित बैठकले समेत वर्तमान परिस्थितिमा महोत्सव आयोजना गर्नु उचित नहुने निष्कर्ष निकालेपछि महोत्सव आधिकारिक रूपमा रद्द गरिएको हो।
महोत्सव नेपालको कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको थियो। कार्यक्रमका लागि विभिन्न संघसंस्था, व्यवसायी, कलाकार, स्वयंसेवक तथा जापानवासी नेपाली समुदायबाट तयारी तथा सहयोग भइरहेको अवस्थामा कार्यक्रम रद्द गर्ने निर्णय गरिएको हो । आयोजकले महोत्सवको तयारीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रायोजक, सह–प्रायोजक, संघसंस्था, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, व्यवसायी तथा सम्पूर्ण जापानवासी नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ।
महोत्सव रद्द गर्नुपर्दा सहभागी तथा सहयोगीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आयोजकले वर्तमान विषम परिस्थितिलाई सकारात्मक रूपमा बुझिदिन आग्रह गरेको छ। “यस दुःखद घडीमा हाम्रो प्राथमिकता उत्सव होइन, विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता, सहयोग र मानवीय संवेदना व्यक्त गर्नु हो,” आयोजकको भनाइ छ।
नेपालमा बाढीपहिरोका कारण जनधनको क्षति भइरहेको अवस्थामा जापानमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाले समेत पछिल्ला दिनमा पूर्वनिर्धारित तीज तथा सांस्कृतिक कार्यक्रम स्थगित वा रद्द गर्दै राहत तथा सहयोग अभियानलाई प्राथमिकता दिन थालेका छन् । चिबा नेपाल कल्चरल फेस्टिभल रद्द गर्ने निर्णयले पनि प्रवासमा रहेर मातृभूमिमा परेको पीडालाई आफ्नै पीडाका रूपमा महसुस गर्दै उत्सवभन्दा मानवीय दायित्वलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
आयोजकले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार, उपचार र सुरक्षित जीवनको कामना गरेको छ।