विपक्षी गठबन्धनलाई साथ दिइरहेका नेकपा एमाले नेता माधवकुमार नेपालले गठबन्धनलाई धोका नदिने प्रण गरेका छन् । शनिबारको पत्रकारहरुसँगको भेटघाटका क्रममा नेता नेपालले यस्तो बताएका हुन् । ‘माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन, आइसक्यो,’ नेता नेपालले भने— ‘तर, गठबन्धनलाई धोका हुन्न । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दाबीमा नेता नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका छन् । एमालेको संस्थापन पक्षले उक्त हस्ताक्षर फिर्ताको सर्त राख्दै एमाले एकताबद्ध हुनुपर्ने प्रस्ताव गरेको छ । तर, नेता नेपालले हस्ताक्षर फिर्ता नलिने अडान लिइसकेका छन् ।
सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नेता नेपाललाई ढाडस दिइरहेका छन् । नेता नेपालले ‘धोकेवाज’ नेता नभएको दुई नेताको पुष्याइँ छ । सभापति देउवाले भनेका छन्-‘माधवजी लडाकु मित्र हो । उहाँलाई पनि कुनै धोका हुँदैन । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।’
अध्यक्ष प्रचण्डले पनि एमालेको ‘रियल लिडर’ नेता नेपाल भएको बताएका छन् । ‘यो गठबन्धन मुद्दामा आधारित भएर बनेको हो । शेरबहादुरजीको दायाँबायाँ माधवजी र म छौँ,’ अध्यक्ष प्रचण्डले भने- ‘हामीले नै शेरबहादुजीलाई प्रधानमन्त्रीको गरेका हौँ । उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन । एमालेको रियल लिडर माधवजी हो । केपी चै खस्किदैँछन् ।’