महेन्द्रनगर- जुनसुकै क्षेत्रमा पनि सफलता सहजै मिल्दैन। कठिन सङ्घर्ष गर्नुनै पर्छ। यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र सङ्घर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले कञ्चनपुरको महेन्द्रनगरमा खेलाडी उत्पादनका लागि थालेको अभियान लोभलाग्दो छ।
आफू खेलाडी हुँदाको समयमा १२ वर्ष राष्ट्रिय पुरुष टिमबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका प्रशिक्षक भट्टले पछिल्लो समय नेपाली महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइरहेका एकपछि अर्को उपाधिले चर्चामा छन्। कारण उनी पछिल्ला वर्षमा नेपाली राष्ट्रिय महिला टिम सम्हाल्दै आएका छन्।
‘खेलाडी जीवनबाट सन्यास लिएर प्रशिक्षकका रुपमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको पनि २९ वर्षभयो,’ उनले भने, ‘अझै नेपाली भलिबल टिमलाई अन्तर्राष्ट्रियस्तरमा सफलता दिलाउने गरी योजनाका साथ अघि बढेका छौँ।’ महिला टिमको प्रशिक्षक भएपछि काठमाडौंमा व्यस्त हुने उनी बिदामा गृहनगर आउँदा पनि भलिबलको विकास र खेलाडी उत्पादनमै समय खर्चिरहन्छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा प्रशिक्षक भट्ट र जिल्ला भलिबल सङ्घको पहलमा नेपाली सेनाले २०६१ सालमा प्रशिक्षक केन्द्र निर्माण गरिदिएको छ। प्रशिक्षक केन्द्रको विकाससँगै पछिल्लो समय भलिबल प्रशिक्षण केन्द्रसमेत यहाँ निर्माण गरिएको छ। अहिले भलिबलका लागि आवश्यक ‘हाइट’ भएका खेलाडी यहाँ नियमित प्रशिक्षणरत छन्।
खेलाडी जीवनदेखि नै खेलाडीलाई बढी सयम दिँदै आएका प्रशिक्षक भट्टकै सक्रियतामा महेन्द्रनगरले हरेक वर्ष सयौँ नयाँ प्रतिभावान खेलाडी जन्माइरहेको छ। खेलाडी हुँदादेखि प्रशिक्षक हुँदासम्म सफलताले चर्चामा रहदै आएका प्रशिक्षक भट्टले यहाँ खेलाडीको हितका लागि गरेका पहल सकरात्मक रहेको छ। साथै उनी खेलाडी छात्राबास निर्माणको पहलमा छन्।
‘अभाव र प्रभावसित जुधिरहेका खेलाडीलाई प्रशिक्षण केन्द्रमै राखेर प्रशिक्षण गराउने उद्देश्यले खेलाडी छात्राबास निर्माणको पहलमा छौँ’ उनले भने,’अहिले पनि प्रशिक्षक केन्द्रमै बसेर २०/२२ जना खेलाडी प्रशिक्षण गरिरहेका छन्।’ स्तरीय प्रशिक्षण मात्रै होइन, खेलाडीको वृत्तिविकासका लागि पनि भट्टले खेलाडीलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाएका छन्। यहाँका क्याम्पस र विद्यालयमा प्रशिक्षक भट्टकै आग्रहमा ६० जना खेलाडी निःशुल्क अध्ययन गर्छन्।
‘पोखरा, काठमाडौं र बुटबलसम्म खेलाडीलाई अध्ययनको व्यवस्था मिलाएको छु’ उनले भने,’खेल्ने र विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्थापन गरिँदै आएको छ।’ यहाँ दैनिक ८० देखि ९० जना महिला तथा पुरुष खेलाडी प्रशिक्षणमा हुन्छन्। प्रशिक्षण केन्द्रबाट उत्पादन भएका खेलाडीमध्ये सयौँले राष्ट्रिय टिमबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत भाग लिइसकेको उनको भनाइ छ।
केही समययता यहाँको भलिबल प्रशिक्षण केन्द्रमा स्वयमसेवक प्रशिक्षकका रुपमा सिनियर खेलाडीद्धय लालबहादुर बटाला र दीपेन्द्र भट्टलेसमेत सहयोग गरिरहेका छन्। ‘प्रशिक्षण केन्द्रमै बास बसेर प्रशिक्षण गर्ने खेलाडीको खानपिनको व्यवस्थाका लागि दाता र राष्ट्रिय खेलकूद परिषद्बाट पनि कहिलेकाहीँ सहयोग भइरहेको छ’ उनले भने, ‘हामीसित नियमित आयस्रोत नभए पनि खेलाडीलाई जेनतेन सुविधा दिइरहेकै छौँ।’
कञ्चनपुरमा उत्पादन भएका भलिबल खेलाडी करिब ५० प्रतिशत विभिन्न विभागीय टिमबाट खेलिरेहको उनको भनाइ छ। ‘राष्ट्रिय टिममा पनि यहाँ उत्पादन भएका खेलाडीको बाहुल्यता छ’ उनले भने, ‘भलिबल खेलाडीको उर्वरभूमि सुदूरपश्चिमको खेल विकासमा नीति निर्माण तहमा पुगेकाकाले पनि यसतर्फ ध्यान जानु आवश्यक छ।’
विसं २०५८ यता भलिबल खेलेका करिब एक हजार २०० भन्दा बढी सेना प्रहरीमा जागिरे भइसकेका छन्। ‘खेलाडीको भविष्य सुन्दर बनाउने खालका योजना ल्याए खेलप्रतिको आकर्षण बढ्दै जान्छ’ उनले भने,’त्यसका लागि राज्यको प्राथमिकतामा खेलकूद पनि पर्नु आवश्यक छ।’