×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

लुम्बिनी प्रदेश : प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

लुम्बिनी प्रदेश : प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सभाको बुधबार (भोलि) बस्ने बैठकमा विधेयक पेस गर्ने कार्यसूची रहेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । कनौडियाले मकालुखबरसँग भने, ‘भोलि सदन बस्दैछ । त्यहीँ नै विधेयक पेस हुन्छ । त्यसको लगभग तयारी भइसक्यो ।’

यसअघि एमाले शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर सरकार अल्पमतमा परेकाले प्रदेश सभाबाट पारित गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।

साउन २८ गते माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेको थियो । नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको कनौडियाले बताए । ‘यसअघिको बजेटमा हाम्रो धेरै विषयमा विमति थियो,’ कनौडियाले भने, ‘अब परिमार्जन गरेर नयाँ योजना र कार्यक्रमसहित ल्याउने तयारीमा छौँ ।’

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।

प्रतिकृया दिनुहोस्