काठमाडौँ- नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार जित निकालेको छ। यसअघि नै प्लेअफमा पुगो लुम्बिनीले बुधबार काठमाडौँ नाइट्सलाई १०२ रन निकाल्दै आठौँ खेलमा विजयी भएको छ ।
जितसँगै लुम्बिनीको शीर्ष दुई स्थान पक्का भएको छ भने क्वालिफायरमा प्रवेश गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १८३ रन जोड्यो।
उसका लागि हरमित सिंहले ३६ बलमा २ चौका र ८ छक्काको मद्दतमा ७० रन जोडे। लाहिरु मिलान्थाले २६ रन र गुल्शन झाले २१ रनको योगदान गरे। बलिङमा काठमाडौँका अभिनास बोहराले ३ विकेट र बासिर अहमेदले २ विकेट हात पारे। १८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.४ ओभरमा ८१ रनमै अलआउट भयो।
उसका लागि बासिरले २२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले १५–१५ रन जोडे। कमलसिंह ऐरीले १६ रन बटुले। बलिङमा लुम्बिनीका कुशल भुर्तेल, ईशान पाण्डे र ह्यारी टेक्टरले २–२ विकेट लिए। अङ्क तालिकामा ९ खेलबाट १६ अङ्क जोड्दै शीर्ष स्थानमा छ भने काठमाडौँ ८ खेलबाट ८ अङ्क जोड्दै तेस्रो स्थानमा छ।