×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ : वर्षमान पुन

ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ : वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् ।लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए ।

०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहङ्कारका कारण पाँच वर्ष खेर गएको उनको भनाइ थियो ।

उनले निरङ्कुश चरित्रका ओलीमा आफैँ सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुई पटकसम्म संसद विघटन गरेको टिप्पणी गरे ।

‘पाँच वर्ष एक ढङ्गले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढङ्गले हिँडेन र बाटो बिरायो भने अरूले दुःख पाउँछ । अघि हिँड्नेले घमण्ड गर्दा अरूले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरङ्कुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’

पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताए । राज्य शक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए ।

ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबिचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुई पटक संसद विघटन गरेको पुनको भनाइ छ ।

निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरे । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरे ।

राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताए । पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्