×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मजदुरदेखि UFC को रिङ्सम्म: बझाङका रविन्द्र ढाँटको ऐतिहासिक उदय

मजदुरदेखि UFC को रिङ्सम्म: बझाङका रविन्द्र ढाँटको ऐतिहासिक उदय

काठमाडौं - भाग्यको भरोसामा बसेर आफ्नो कमजोरीलाई सराप्नेहरूका लागि यो एउटा यस्तो जीवित कथा हो, जसले रगत र पसिनाको मूल्य बुझाउँछ। बझाङको त्यो विकट र दुर्गम गाउँ, जहाँ गरिबीको छायाँले सपनाहरूलाई भुइँमै निमोठिदिन्थ्यो। त्यहीँ जन्मिएका थिए रविन्द्र। धुलो, माटो र हिलोमा बाल्यकाल बिताएका रविन्द्रसँग सुरुमा कुनै ठुलो सपना थिएन। किनकि, अभावको जाँतोमा पिसिएको परिवारमा हुर्किएका उनलाई लाग्थ्यो— "हामी जस्ता गरिबका पनि के सपना हुनु?" यही सोचेर, मात्र १५ वर्षको कलिलो उमेरमा, एसएलसी सिध्याउने बित्तिकै उनी आफ्ना बुबा र दाइकै पाइला पछ्याउँदै श्रमको खोजीमा भारत हानिए।

१५ वर्षको उमेर खेल्ने, हाँस्ने र पढ्ने उमेर हो। तर रविन्द्रका कलिला हातहरूले ढुङ्गा बोक्नुपर्‍यो, गिट्टी कुट्नुपर्‍यो। सङ्घर्षको पराकाष्ठा त तब भयो, जब उनले एक्लै १९० केजीसम्मको बिजुलीको पोल ढाडमा बोकेर हिँडे। लगातार एक वर्षसम्मको त्यो अमानवीय श्रमले उनको ढाडका हड्डीहरू बाहिर निस्किए। तर, भनिन्छ नि— ‘आगोमा नपोलिई सुन बन्दैन र हथौडाको चोट नखाई फलाम बलियो हुँदैन।’ त्यही कठोर दुःखले रविन्द्रको शरीरलाई एउटा दह्रो फलाम जस्तै बलियो र अभेद्य बनाइदियो। उनको भित्री चेतनामा एउटा अदम्य साहसको बिउ रोपिसकेको थियो।

छोराले कम उमेरमै अत्याधिक दुःख पाएको देख्न नसकेर बुबाले उनलाई दिल्लीको एउटा कार्यालयमा 'अफिस ब्वाइ' को काममा लगाइदिए। त्यहाँ उनको काम चिया पकाउने र भुइँमा पोछा लगाउने थियो। एक दिन, भर्‍याङमा पोछा लगाउँदै गर्दा, उनकै उमेरका विद्यार्थीहरूको एउटा हुल काँधमा झोला भिराएर हाँस्दै, रमाउँदै त्यहाँबाट गुज्रियो। उनीहरूलाई हेरेर रविन्द्रले आफ्नो अवस्था नियाले— हातमा पोछा र आँखामा आँसु! त्यो क्षण उनको आत्मसम्मानमा ठुलो धक्का लाग्यो। उनी रोए, तर त्यो रोदन कमजोरीको थिएन, त्यो त भित्री आँधीको सुरुवात थियो। त्यही भर्‍याङको खुड्किलामा उनले दृढ सङ्कल्प गरे— "म जीवनमा यो अवस्थामा मात्र सीमित रहने छैन, म केही गरेर देखाउनेछु!"

सङ्कल्पले मार्गचित्र कोर्छ। एक जना साथीको सल्लाहमा उनले कराते, तेक्वान्दो र मिक्स मार्सल आर्ट्स (MMA) को प्रशिक्षण लिन थाले। उनीभित्र यस्तो भोक र पागलपन थियो कि, उनी केवल खेलाडी मात्र रहेनन्, छिट्टै आफैं गुरु (ट्रेनर) बने। तर, जीवनको सङ्घर्ष यतिमा सकिएन। घरबाट लगातार पैसाको माग भइरह्यो, तर खेल क्षेत्रबाट सुरुमै आर्थिक गर्जो टर्न गाह्रो थियो। हार खाएर, फेरि राहदानी (पासपोर्ट) बनाएर खाडी मुलुक जाने अन्तिम तयारीका साथ उनी नेपाल फर्किए। लाग्थ्यो, सपनाहरू फेरि बन्धक बन्दैछन्।
तर, इतिहास रच्नेहरूको बाटो ईश्वरले आफैं खोल्छन्। ठिक त्यही बेला, भारतबाट 'वान च्याम्पियनसिप' मा लड्ने सुनौलो अवसर आयो। तर, विडम्बना! त्यहाँ जान पनि उनीसँग पैसा थिएन। यस्तो अवस्थामा उनका प्रशिक्षक दिविज पिया लामा भगवान् बनेर आए, जसले आफ्नो खल्तीबाट आधा पैसा हालिदिए। रविन्द्र भारत उडे। रिङभित्र उनको सामना एक शक्तिशाली रसियन फाइटरसँग भयो। बझाङको माटोको शक्ति र २६ वर्षको कठोर सङ्घर्ष उनको मुड्कीमा थियो। उनले रसियन फाइटरलाई परास्त गरे! यो जित केवल एउटा खेलको जित थिएन, यो त रविन्द्रको जीवनकै सबैभन्दा ठुलो 'टर्निङ प्वाइन्ट' बन्यो।


त्यसपछिको यात्रा इतिहास हो। आज रविन्द्रको नाम विश्वभर छरिएका नेपालीहरूको मुटुमा सम्मानका साथ गुञ्जिरहेको छ। विगतका ती कहालीलाग्दा दिन, ती भर्‍याङमा झरेका आँसुका थोपाहरू आज सफलताको खुसीको आँसुमा परिणत भएका छन्। आज रविन्द्र विश्वकै सबैभन्दा ठुलो र प्रतिष्ठित फाइटिङ लिग Road to UFC को सेमिफाइनलसम्म पुग्ने पहिलो नेपाली मिक्स मार्सल आर्ट्स (MMA) फाइटर बनेर इतिहास रचिसकेका छन्!

 

 

प्रतिकृया दिनुहोस्