जापान। रसुवा भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला बिहुँकोटदेखि विश्वका विभिन्न देशमा छरिएर रहेका बिहुँकोटवासीहरूले पीडितको दुःखलाई आफ्नै पीडा सम्झँदै मानवीय सहयोगका लागि हातेमालो गरेका छन् । विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बिहुँकोट अन्तर्राष्ट्रिय समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बिहुँकोटमा रहेका तथा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका सम्पूर्ण बिहुँकोटवासीहरूको साझा संस्था बिहुँकोट अन्तर्राष्ट्रिय समाजले प्राकृतिक विपत्तिको यस दुःखद् घडीमा मौन बस्न नसकी मानवीय सेवाको भावनासहित उक्त सहयोग गर्ने निर्णय गरेको हो।समाजका कोषाध्यक्ष टीकाराम कँडेलका अनुसार बाढीपीडितहरूको पीडामा साथ दिनुपर्छ र आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने साझा मानवीय भावनाका साथ ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको थियो।
सोही निर्णय अनुसार बाढी गएको तेह्रौँ दिनको अवसर पारेर काँठेखोला गाउँपालिका मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको समाजका महासचिव शेखर कँडेलले जानकारी दिए। सहयोग रकम हस्तान्तरण कार्यक्रममा काँठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा तथा उपाध्यक्ष तेजबहादुर थापाको रोहबरमा बिहुँकोट अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष महेन्द्रप्रसाद कँडेल, सह–कोषाध्यक्ष हरिप्रसाद सापकोटा, सदस्य कृष्णप्रसाद कँडेल लगायतको सहभागिता रहेको थियो।
रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरू प्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरिएको छ।
यस मानवीय अभियानमा बिहुँकोटमा रहेका तथा विश्वका विभिन्न कुनामा बसोबास गर्दै आएका बिहुँकोटवासीहरूले देखाएको एकता, सद्भाव र सहयोग प्रति समाजका अध्यक्ष पण्डित देविलाल सुवेदीले हार्दिक आभार व्यक्त गरेका छन्। उनले नेपालको पीडालाई आफ्नै पीडा सम्झेर विश्वभरका बिहुँकोटवासीहरू एकताबद्ध हुनु समाजको साझा गौरव भएको बताएका छन्। त्यस्तै, समाजका वरिष्ठ उपाध्यक्ष दयानिधि सापकोटाले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिने तथा सद्भाव व्यक्त गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
समाजले यो सहयोगलाई केवल ५ लाख रुपैयाँको आर्थिक सहयोग मात्र नभई संसारभर छरिएर रहेका बिहुँकोटवासीहरूको साझा पीडा, मानवीय भावना, एकता र सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ। “विपत्तिले भूगोल छुट्याउन सक्छ, तर पीडा छुट्याउन सक्दैन” भन्ने सन्देश सहित बिहुँकोटदेखि विश्वभर रहेका बिहुँकोटवासीहरू एकताबद्ध भएर मानवीय सेवामा जुट्नु नै यस अभियानको सबैभन्दा ठूलो शक्ति र गौरव भएको समाजले जनाएको छ।