भरतपुर- पूर्वमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जनताको जित हुनको लागि एक पटक मौका दिन आग्रह गर्नुभएको छ । चुनावी घरदैलो गर्ने क्रममा भरतपुर–१४ सुन्दरबस्तीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले भन्नुभयो, ‘यहाँहरूले धेरैपटक नेतालाई जिताउनुभयो, अब आफैँलाई जिताउन पनि हलोमा मतदान गर्नुहोस् । जनताको सेवक भएर काम गर्नकै लागि आफूले चितवन ३ लाई कहिल्यै नछाडेको समेत बताउनुभयो ।
आफू राजनीति गर्न आएको नभई जनताको सेवा गर्नको लागि राजनीतिलाई माध्यममात्रै बनाएको उहाँको भनाइ छ । सामान्य जनताका सानासाना समस्यासमेत समाधान हुन नसकेको हुँदा त्यस्ता समस्या समाधान गर्न आफूले कम्मर कसेर लागेको समेत बताउनुभयो । यस्तै, चुनावी घरदैलोका क्रममा भरतपुर–२१ जगतपुरमा भएको कार्यक्रममा नेता पाण्डेले जनताको समस्या समाधान गर्नकै लागि हलो बोकेर जनताको घरदैलोमा आएको बताउनुभएको छ ।
यस्तै, भरतपुर–१७ र १९ स्थित शारदानगरमा भएको चुनावी घरदैलो कार्यक्रममा बोल्दै नेता पाण्डेले मंसिर ४ को निर्वाचनपछि कुनै पनि युवालाई विदेश जान रोकेर नेपालमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । दक्ष युवा स्वदेशभित्र रोकिन नसक्दा नेपाल हरेक वर्ष अगाडि बढ्नुपर्नेमा पछाडि धकेलिएको भन्दै अब नेपाली युवालाई नेपालभित्रै अड्याउन सक्ने गरी काम गर्ने योजना रहेको बताउनुभयो । युवाशक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था मिलाउन नसकेसम्म देश विकासले गति लिन नसक्नेसमेत पूर्वमन्त्री पाण्डेको भनाइ छ ।