काठमाडौं- महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्ल्यूपीएल)’मा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड पुगेकी छन् । डब्ल्यूपीएल, आइसल्यान्ड सरकार र त्यहाँको संसदले संयुक्त रुपमा आयोजना गरेका उक्त कार्यmत्रममा सामेल हुन उनी मंगलबार राति आइसल्यान्ड पुगेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल एस्ट्रिड ब्रेक्किन र डेनमार्कस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए । कतार, जर्मनी हुँदै राष्ट्रपति आइसल्यान्ड पुगेकी हुन् ।
भण्डारीले आज उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आज ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने छिन् ।