काठमाडौं- विदेश पलायन हुने फुटबल खेलाडीमा अर्को एउटा नाम पनि थपिएको छ सुनील बल । गत वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘बेस्ट प्लेयर अफ द सिरिज’ घोषित भएका सुनील विदेश पलायन भएका छन् ।
गत वर्ष मछिन्द्रलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सुनील यसपटक संकटा क्लबमा जोडिएका थिए। यद्यपि, उनी थप अवसरको खोजीमा सोमबार अस्ट्रेलिया उडेका छन् ।
दशरथ रंगशालामा आइतबार भएको त्रिभुवन आर्मी फुटबल क्लबसँगको खेल गोलरहित बराबरीमा सकिएको थियो । टोलीको कप्तानी गरेका सुनीलले सो खेल नजिते पनि संकटालाई बलियोरूपमा प्रस्तुत गर्न सफल भएका थिए।
यस वर्षको आहा-रारा पोखरा गोल्डकपको उपाधि विजेता तथा क्लबका कप्तानसमेत रहेका सुनील अस्ट्रेलिया उडेपछि आफूहरूलाई ठूलो झट्का लागेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए ।
‘हामीलाई असाध्यै गाह्रो भएको छ। दुःखी छौँ। पहिले सम्झौता गर्दा सुनीलले लिगपछि मात्र अस्ट्रेलिया जाने भनेका थिए । एक खेलपश्चात् नै अकस्मात जान्छु भन्दा हामीलाई निकै चोट पुग्यो । यदि, पहिले भनेको भए हामीले विकल्पमा कसैलाई राख्थ्यौँ होला’, तुलाधरले गुनासो गरे ।
कप्तानको भूमिकामा रहेका मुख्य खेलाडी नै टोलीमा नभएपछि टोलीलाई असर पर्नु स्वाभाविक नै हो । तुलाधारले भने, ‘सुनील हाम्रा ‘की प्लेयर’ हुन्। सुनील जाँदा चुनौती थपिएको छ। तर, खेलाडीको भविष्यको कुरा आएपछि उनलाई रोक्ने पक्षमा भने हामी रहेनौँ। उनले ३–४ खेलपश्चात फर्कने आश्वासन दिएका छन्। राष्ट्रिय टोलीक लागि पनि आउने भाव व्यक्त गरेका छन् ।’
सुनीलको नेपालमा पनि नराम्रो थिएन । उनले आकर्षक पारिश्रमिक पाएका पनि थिए । ‘अस्ट्रेलियामा पाउनेभन्दा कम पारिश्रमिक भने पक्कै दिएको होइन। २ लाख रुपैयाभन्दा बढीको पारिश्रमिकलाई कम त भन्न नमिल्ला। यस्तो अवस्थामा खेलाडी जानु विडम्बना नै हो।’ तुलाधरले भने ।
पछिल्लो समय राष्ट्रिय खेलाडी अस्ट्रेलिया जाने क्रम निकै बढेको छ । यसले नेपाली फुटबलमा असर पर्ने अनुमान गरिएको छ । तर, अध्यक्ष तुलाधर भने यसबाट अवसर पनि सिर्जना हुने बताउँछन् ।
‘अहिलेको सन्दर्भमा खेलाडी विदेसिनु पक्कै नकारात्मक हो । तर, विदेशी क्लबहरूसँग समन्वयन गरेर नेपाली खेलाडीलाई अस्ट्रेलियामा नै खेलाउन सक्यौँ भने पक्कै फाइदा हुन्छ।’
यसको लागि भने अखिल नेपाल फुटबल संघ एन्फा, राष्ट्रिय खेलकुद परिषद् राखेप, खेलकुद मन्त्रालय तथा सरोकारवालले गम्भीर भएर खेलाडीसँग छलफल गर्नुपर्ने उनको धारणा छ । लिगमा आगामी खेलको लागि टोलीलाई कसरी तयार पार्ने विषयमा थप गृहकार्य भइरहेको तुलाधरले बताए ।