काठमाडौँ- एमसीसी उपाध्यक्ष फतिमा सुमारले आफू एमसीसीबारे दबाब सिर्जना गर्न नेपाल नआएको स्पष्ट पारेकी छन् । शुक्रबार (आज) बिहान पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेकी उपाध्यक्ष फतिमाले भनिन्, ‘म एमसीसीबारे बुझ्न मात्रै आएकी हुँ । कुनै दबाब सिर्जना गर्न वा दबाब दिन आएकी होइन ।’ ‘एमसीसीबारे बुझ्न आएकी हुँ’ भन्ने उपाध्यक्ष फतिमाको जिज्ञासामा अध्यक्ष प्रचण्डले ‘यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरुबीच राष्ट्रिय सहमति जुट्नैपर्छ’ भनेर जवाफ दिएका थिए । अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो, ‘उहाँ (प्रचण्ड) ले उपाध्यक्ष फतिमासँग अहिले आफूहरुको ध्यान अग्रगमनको संवाहक सत्तारुढ गठबन्धनलाई बलियो बनाउनेतर्फ भएको बताउनुभयो ।’
भेटमा उपाध्यक्ष फतिमाले नेपालमा एमसीसीका सम्बन्धमा सकारात्मक परिणाम आउँछ भन्नेमा आफू ढुक्क रहेको बताएकी थिइन् । ‘मलाई लाग्छ यहाँ एमसीसीको सम्बन्धमा सकारात्मक निर्णय हुनेछ,’ उपाध्यक्ष फतिको भनाइलाई उद्धृत गर्दै प्रचण्ड सचिवालयले भन्यो, ‘म यो कुरामा आशावादी छु ।’