काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे।
विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका छन्। पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको बताए।
सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो। हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ। केही महत्वपूर्ण आयोजनाहरू सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरू महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए।
विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले नेपालको विकासमा साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने प्रतिबद्धता जनाएकी छन्।