काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।
सो क्षेत्रमा निवर्तमान सांसद पूर्व मन्त्री डा.मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।
शनिबार राति पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको बताए । २०७४ सालमा डा.रिजालले एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।
मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले डा.र सुनील शर्मालाई टिकट दिएको छ । शर्मा क्षेत्रबाट एकल सिफारिसमा परेका थिए ।
गठबन्धन गर्दा भागमा परेको मोरङ क्षेत्र नम्बर १ बाट डिकबहादुर लिम्बु, २ मा सुजाता कोइराला, ३ मा डा. सुनिल शर्मा र क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालाले टिकट पाएका छन् ।
मोरङको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ ।