×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले औपचारिक फुटकाे संघारमा, नेपाल-खनालले नयाँ पार्टी खाेल्ने

एमाले औपचारिक फुटकाे संघारमा, नेपाल-खनालले नयाँ पार्टी खाेल्ने

सत्तासीन एमाले अन्तत: ‍औपचारिक फुटकाे संघारमा पुगेकाे छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकाे अध्यक्षतामा साेमबार बसेकाे स्थायी कमिटी बैठकले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेसँगै औपचारिक विभाजनतर्फ लागेकाे हाे।

वरिष्ठ नेता नेपालले मंगलबारकाे नयाँ पत्रिकामा अन्तर्वार्तामा भनेका छन्, 'मैले भनिसकेँ, कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छ । कसरी गर्ने भन्ने विषयमा छलफल गर्छौँ ।' 

नेता नेपालले आफूहरुलाई ओलीले धकेलेर बाहिर निकाल्न खोजेको आरोपसमेत लगाएका छन्। 'उहाँ (ओली) ले खोजेको भनेकै विदेशीहरूको इसारामा कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाउने हो, विभाजन गर्ने हो । उहाँ पूरै  विदेशीहरूको कठपुतली बन्नुभएको छ । त्यही भएर विदेशीहरूको प्रिय पात्र बन्न खोज्नुभएको छ । विदेशीको प्रिय बन्नका लागि कम्युनिस्ट पार्टीलाई बर्बाद पार्न लाग्नुभएको छ । त्यसो हुनाले क्रान्तिकारी पार्टी निर्माण गर्ने र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छँदै छ । कम्युनिस्ट पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने, क्रान्तिकारी पनि बनाउने र जनताको प्रिय पार्टी बनाउने भन्ने विषयमा हामी छलफल चलाउँछौँ ,' नेपालले भनेका छन्।

यद्यपि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्