काठमाडौं- ऐश्वर्या राय 'स्टारर' फिल्म 'पोन्नीइन सेल्भान- २' ले चार दिनमै करिब २ अर्ब भारतीय रुपैयाँ कमाएकाे छ । मद्रास टकिजले सोमबारको कमाइको विवरण जारी गर्दै ट्विटरमा लेखेको छ, ‘रेकर्ड तोड्दै, विश्व विजय गर्दै, पीएस- २ ले लगातार नयाँ उचाइ छोइरहेको छ । र, संसारभरको कलेक्सनमा २ सय करोडको आँकडा पार गरिसकेको छ ।
भारतीय बक्स अफिसमा पहिलो दिन फिल्मको कलेक्सन २४ करोड रुपैयाँ थियो । दोस्रो दिन यसले २६ करोड २ लाख रुपैयाँ कमायो । तेस्रो दिन फिल्मले ३० करोड ३ लाख रुपैयाँ कमायाे भने चौथो दिन यो आकडा २३ करोड २५ लाख रुपैयाँ रह्यो । रिलिजपछि सुरुवाती ४ दिनमै भारतीय बक्स अफिसमा फिल्मले १ अर्ब ३ करोड ७५ लाख रुपैयाँ कमाएको भारतीय अनलाइन लाइभ हिन्दुस्तानले लेखेकाे छ ।
कुल कमाइमध्ये ८० करोड ३८ लाख रुपैयाँ फिल्मले तमिल भर्सनबाट बटुलेकाे हाे । हिन्दी भर्सनबाट फिल्मले ९ करोड रुपैयाँ कमाएको छ । सबैतिरको आम्दानीको कुरा गर्दा अहिलेसम्म फिल्मले २ अर्ब १२ करोड ३५ लाख रुपैयाँ कमाएको छ । फिल्मको निर्देशन मणि रत्नमले गरेका हुन् ।
यो फिल्मले चोल वंशको उत्थान र पतनलाई देखाएको छ । फिल्मको पहिलो भाग सुपरहिट भएको थियो । त्यसैले पनि चलचित्र प्रेमीहरू यसको दोस्रो भागलाई पर्खिरहेका थिए । फिल्मको दोस्रो भाग पनि रुचाइएसँगै कतिपयले साेसल मिडियामा लेखेका छन्, 'अब निर्माण टिमले तेस्रो भाग ल्याउने तयारी थाले हुन्छ ।'